
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालि ले मासिक मात्र ६५४ रुपैयाँ मा १०० एमबीपीएस गतिको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस स्पीडमा सेवा दिँदै आएको कम्पनीले अब डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा सुरू गरेको हो। कम्पनीका अनुसार नयाँ योजना घरपरिवार र साना व्यवसायहरूलाई लक्षित गरी डिजाइन गरिएको हो।
यो योजनाअनुसार २४ महिनाको अवधिका लागि रु १५,७०७ तिर्नुपर्नेछ, जसअनुसार मासिक खर्च ६५४ रुपैयाँ पर्छ। त्यसैगरी, १२ महिनाका लागि रु ९,४६९ मा सेवा उपलब्ध हुनेछ, जसअनुसार मासिक लागत ७९० रुपैयाँ हुनेछ। यी दुबै मूल्यमा भ्याट समावेश गरिएको छ र कुनै अतिरिक्त शुल्क लाग्ने छैन, कम्पनीले स्पष्ट पारेको छ।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियार ले हालसम्म ७० हजारभन्दा बढी घरधुरीमा इन्टरनेट जडान भइसकेको जानकारी दिएका छन्। “हामी नेपाली समाजको बढ्दो डिजिटल आवश्यकता बुझेर उच्च गुणस्तरको फाइबर इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराएका छौं,” उनले भने।