
धनगढी । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये नेपालका विपिन जोशी पनि रहेका छन्। हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमवार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो।
त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको हमासले सोमवार विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि विपिन जोशीलाई बन्दी बनाइएको थियो। आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र विपिन ‘सिक एन्ड कमाउ’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।
यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको कुनै प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र जोशी परिवारलाई दिएको बताएका थिए।
२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए। हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए। साथीलाई जोगाउने प्रयासमा रहेका विपिनलाई हमासले बन्दी बनाएर लगेको दृश्य भिडियो फुटेजमा देखिएको थियो।
बैतडीको पुर्चौडी नगरपालिका–१० निवासी विपिनको जन्म २०५७ सालमा भएको हो। उहाँ बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुनुहुन्थ्यो।
दुई वर्षदेखि चलिरहेको इजरायल–हमास युद्ध रोकिएपछि, हमासले बन्धक बनाइएका ४८ जनामध्ये २० जना जीवितलाई सोमबार रिहा गरेको हो। अन्तर्राष्ट्रिय रेडक्रसमार्फत हस्तान्तरण गरिएका ती बन्धकहरूलाई इजरायली सरकारले औपचारिक स्वागत र स्वास्थ्य उपचारको व्यवस्था गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।