धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकारको प्रमुख प्राथमिकता राजनीतिक स्थायित्व र त्यसैका माध्यमबाट आर्थिक विकास रहेको स्पष्ट गरेकी छन्।
सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई धनगढीमा सम्बोधन गर्दै मन्त्री डा. राणाले राजनीतिक अस्थिरता अन्त्य गरी दुई प्रमुख दल नेपाली काँग्रेस र एमालेको गठबन्धन सरकार बनेको उल्लेख गर्दै अहिलेको सरकार स्थायित्व, शान्ति र समृद्धिमा केन्द्रित रहेको बताइन्।
उनले भनिन्, “लगानी भित्र्याउन राजनीतिक स्थायित्व र शान्तिको वातावरण अत्यावश्यक हुन्छ। कानुनी सुधार र नीतिगत संरचनामार्फत लगानीमैत्री वातावरण बनाउँदै स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा सरकार सक्रिय छ।”
परराष्ट्र मन्त्रालयमा ‘आर्थिक कूटनीति महाशाखा’ स्थापना गरी विदेशी लगानी आकर्षणमा सहजीकरण भइरहेको जानकारी दिँदै मन्त्री राणाले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा चिनिन्। “विदेशी लगानीकर्तालाई आकर्षित गर्न स्वदेशी लगानीकर्तालाई भरोसा दिलाउने वातावरण चाहिन्छ,” उनले भनिन्।
सुदूरपश्चिममा पर्यटन, संस्कृति, कृषि लगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई ती क्षेत्रमा लगानी गर्न आग्रह गरिन्। साथै, स्थानीय सरकार र नागरिकलाई आ–आफ्नो भूमिकामा सक्रिय हुन आग्रह गर्दै उनले भनिन्, “विकासमा राजनीति होइन, सहकार्य चाहिन्छ। एकमत भई आफ्नो क्षेत्रको समुन्नतिमा लागौँ।”