
काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर तथा शक्तिपीठहरूमा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ।
सोमबार पहिलो दिन घटस्थापना गरी नौ दुर्गामध्येकी शैलपुत्री देवीको आह्वानसहित पूजा गरिएको थियो भने आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वानसहित विधिपूर्वक पूजा सम्पन्न गरिएको हो।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायतका स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने मान्यता छ।
सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्ने परम्परा रहेको छ। यस क्रममा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।
नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउने प्रतीक मानिन्छ। विधानअनुसार ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु हुन्छ।
नवरात्र प्रारम्भसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो देखिन थालेको छ। सोमबारदेखि नै देवी मन्दिर तथा शक्तिपीठहरूमा विशेष चहलपहल सुरु भएको छ।