सुदूरपश्चिमको बजेट भोलि सार्वजनिक हुँदै, मन्त्रालय अझै योजना छानबिनमै व्यस्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि भोलि आइतबार साँझ ५ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले तोकिएको समयमै बजेट पेश गर्ने कार्यक्रम तय भइसकेको छ।

संविधानको प्रावधान अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रदेश सरकारले तयारीलाई अन्तिम चरणमा पुर्‍याइरहेको छ। आर्थिक मामिला मन्त्रालय भने अझै मन्त्रालयहरूबाट आएका योजना छानबिन र बजेट कटौतीमा व्यस्त छ। मन्त्रालयले बजेटको दस्तावेजलाई अहिलेसम्म अन्तिम रूप दिन सकेको छैन।

चालु वर्षको खर्च न्यून, बचत र घाटा उच्च

शुक्रबार प्रदेश सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री थापाले चालु आर्थिक वर्षमा अहिलेसम्म जम्मा आठ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको जानकारी दिएका थिए। चैत मसान्तसम्म प्रदेशमा १० अर्ब ९८ करोड ९ लाख रुपैयाँ बचत रहेको र तीन अर्ब ८५ लाख ६६ हजार रुपैयाँ घाटा देखिएको उनले बताएका थिए।

सांसदका लागि छुट्टै योजना

यस वर्ष पनि प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई तीन करोड रुपैयाँ बराबरका योजना दिने सहमति गरिएको छ। यो व्यवस्था अदालतले खारेज गरिसकेको भए पनि प्रदेश सरकारले सांसदको सिफारिसमा योजना समेट्ने तयारी गरेको छ।

कुल ५२ जना सांसदलाई सो व्यवस्था अनुसार करिब दुई अर्ब १८ करोड रुपैयाँ बराबरको योजना बाँडफाँट हुने अनुमान गरिएको छ। आलोचकहरूले यसलाई अदालतले खारेज गरिसकेको ‘सांसद सिफारिसमा आधारित पूर्वाधार कार्यक्रम’ सँग मिल्दोजुल्दो भन्दै प्रश्न उठाइरहेका छन्।

बजेट पुस्तिका छपाइ सर्ने

बजेट भाषण भोलि तोकिए पनि आर्थिक मामिला मन्त्रालयमा अहिले पनि योजना छाँटकाँटको काम भइरहेकाले बजेट वक्तव्य र वार्षिक कार्यक्रम पुस्तिका छपाइ ढिला हुने भएको छ।

अहिले सुदूरपश्चिम सरकारले कति आकारको बजेट ल्याउने र के कस्ता योजना प्राथमिकतामा राख्ने भन्ने विषयमा प्रदेशवासीको चासो बढ्दो छ।

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै