धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई निलम्बन गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ।
एक करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै अख्तियारले सोडारीलाई प्रदेशसभा सदस्यको हैसियतबाट निलम्बन गर्न पत्राचार गरेको हो।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोडारीविरुद्ध अख्तियारले पठाएको पत्र सभामुखलाई सम्बोधन गरिएको छ। प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुखलाई पत्र बुझाइएको पुष्टि गर्दै निलम्बन प्रक्रिया अघि बढ्ने संकेत दिएका छन्।
बोगटीका अनुसार निलम्बनपछि सोडारीको तलब र अन्य सुविधासमेत रोक्का गरिनेछ। अहिले भने औपचारिक निर्णय हुन बाँकी रहेको सचिवालयले जनाएको छ।