
धनगढी— परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिन लागेको लगानी तथा विकास सम्मेलनले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएकी छिन्।
धनगढी विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशबाट केन्द्र सरकारमा रहेका मन्त्रीहरूको पनि सम्मेलनमा सहयोगी भूमिका रहने जानकारी दिइन्। “सुदूरपश्चिम लगानीको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो,” मन्त्री राणाले भनिन्, “नेपालमा लगानी गर्न धेरैको चासो छ। त्यसलाई सहज बनाउन केही नियम तथा कानुन सुधार आवश्यक छ, त्यसमा हामी जुटेका छौं।”
सम्मेलनको पूर्वतयारी बैठकमा सहभागी हुन मन्त्री राणा आज धनगढी पुगेकी हुन्। प्रदेश सरकारको आयोजनामा आगामी असोज १ र २ गते हुने सम्मेलनको तयारी सुरु भइसकेको छ। सम्मेलनमार्फत उद्योग, खानी तथा खनिज, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा लगानी आकर्षित गर्न सरकारी, निजी र सहकारी क्षेत्रबीचको सहकार्य बलियो बनाइने लक्ष्य लिइएको छ।
यसै क्रममा, हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको अवस्थाबारे जिज्ञासामा उनले परराष्ट्र मन्त्रालयद्वारा गहिरो पहल भइरहेको जानकारी दिइन्। “हमाससँग इरानी परराष्ट्रमन्त्रीले कुरा गरिदिनुभएको छ, प्रधानमन्त्रीले इजिप्टसँग संवाद गर्नुभएको छ। उनको अवस्था अझै स्पष्ट छैन, तर हामी उनलाई सकुशल हुने आशा गरिरहेका छौं,” मन्त्री राणाले भनिन्।
सम्मेलनले सुदूरपश्चिम प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र आर्थिक सम्भावनालाई उजागर गरी दिगो र रुपान्तरणकारी समृद्धिको दिशामा प्रदेशलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।