
धनगढी, कैलाली — थारु संस्कृति र अतिथि सत्कारको विशेषताले भरिएको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा होमस्टेले ‘नेपालकै उत्कृष्ट होमस्टे’को उपाधि पाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिले सोमबार आयोजित एक कार्यक्रमका बीच भादा होमस्टेलाई उत्कृष्ट घोषित गर्दै नगद एक लाख रुपैयाँसहित सम्मानित गरेको हो।
तारा गाउँ विकास समितिले देशभरका होमस्टेहरूलाई आवेदन आह्वान गरी उत्कृष्ट छनोट प्रक्रिया अघि बढाएको थियो। आवेदनको मूल्यांकनका आधारमा भादा होमस्टेलाई उत्कृष्टको रूपमा चयन गरिएको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए।
सोही अवसरमा भादामा सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे कार्यशाला गोष्ठीसमेत सम्पन्न गरिएको थियो। पुरस्कार समितिका अध्यक्ष सुरेशराज जोशी र प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले पुरस्कार प्रदान गरेका थिए।
त्यस्तै, बर्दियाको डल्ला होमस्टेले दोस्रो स्थान प्राप्त गर्दै जैविकमार्ग होमस्टेको रूपमा ७५ हजार रुपैयाँ प्राप्त गर्यो भने काठमाडौँको हाँडि गाउँ होमस्टेले तेस्रो स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।