फुलबारीमा ट्राफिक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न

कैलाली — “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलबारीमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्थानीय अविरल रोकायाको सौजन्यमा र अस्थायी ट्राफिक प्रहरी पोस्ट फुलबारीको आयोजनामा सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्देश्य सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि गर्नु रहेको थियो। यस क्रममा मोटरसाइकल तथा अटो चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको थियो भने ट्राफिक नियम पालनासम्बन्धी सन्देशसहितका बोर्डहरू पनि वितरण गरिएको थियो।

सौजन्यदाता रोकायाले मुख्य सडकसहित विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए। कार्यक्रममा सहभागी कैलारी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज रमेश रोकायाले सवारी दुर्घटना हुन सक्ने सम्भावना, रोकथामका उपायहरू र प्राथमिक उपचारका विषयमा जनतालाई सचेत गराए।

त्यसैगरी ट्राफिक इन्चार्ज भुवन सिंहले फुलबारी क्षेत्रमा अव्यवस्थित ट्राफिक व्यवस्थापनका कारण हुने समस्याहरू र दुर्घटना न्यूनीकरणमा जनसहभागिताको महत्वबारे प्रकाश पारे। इलाका प्रहरी इन्चार्ज लोकेन्द्र चन्दले पनि पछिल्लो समयमा फुलबारी क्षेत्रमा बढ्दै गएको दुर्घटनाको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न समाजसेवी, स्थानीय बासिन्दा तथा प्रहरी प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै