धनगढी — धनगढी उपमहानगरपालिकाले विषादीको अत्यधिक मात्रा भेटिएको कारण दुई हजार २६० किलोग्राम आँप नष्ट गरेको छ। आइतवार सहिद गेट कृषि उपज थोक बजारस्थित जय श्री मा जानकी स्टोरबाट संकलित उक्त आँप विषादीयुक्त पाइएको हो।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लका अनुसार आइतवार थोक बजार र मण्डीबाट तरकारी तथा फलफूलका १५ वटा नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको थियो। परीक्षणमा भिन्डी, काँक्रो, टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँप समावेश थिए। तीमध्ये आँपमा मात्र विषादीको मात्रा अत्यधिक भेटिएको हो।
परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पत्रकार महासंघ र सरोकारवाला निकायहरूको संयुक्त टोलीले गरेको हो। उक्त टोलीले सहिद गेट थोक बजार, दक्षिणकाली मार्गको सब्जी मण्डी र चौराहास्थित हाट बजारबाट नमुना संकलन गरेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानका अनुसार परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको मात्रा अत्यधिक पाइएको हो। उनले अन्य तरकारी तथा फलफूलमा विषादीको मात्रा सामान्य रहेको बताए। विषादीको मात्रा उच्च भएकाले आँपलाई खान अयोग्य घोषित गरिँदै धनगढी उपमहानगरले नष्ट गरेको हो।