
धनगढी । गङ्गादशहरा पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरका ६ स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ। कैलालीका धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरका बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेल्डाँडी गाउँपालिकाले स्थानीयस्तरमा विदा दिएका हुन्।
धनगढी उपमहानगरपालिकाले बेहडाबाबामा लाग्ने गङ्गादशहरा मेलाको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ। त्यस्तै, कैलारी गाउँपालिकाले पनि मेलाको अवसरमा स्थानीय विदा दिएको हो।
कञ्चनपुरतर्फ, बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलालाई विशेष महत्व दिँदै चार पालिकाले आज विदा दिएका छन्। तीमध्ये तीन पालिकाले बिहीबारका लागि मात्र विदा दिएको भए पनि लालझाडी गाउँपालिकाले बिहीवार र शुक्रवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
स्थानीय तहहरूले गङ्गादशहरा मेलालाई सांस्कृतिक र धार्मिक महत्वको रूपमा लिँदै सार्वजनिक विदा दिएका हुन्।