काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। आरिफ शेखले करियरकै सर्वाधिक ७८ रनको शानदार पारी खेलेर नेपालको जितको आधार तयार गरे।
नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। आरिफले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै संयमित र धैर्यपूर्ण इनिङ्स खेले। उनले कप्तान रोहित पौडेलसँग ५५ रन र दिपेन्द्रसिंह ऐरीसँग ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्याए।
दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए भने गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे। कुशल भुर्तेलले २५, रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियो। नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए।
नेपालले यसअघि सोमबार स्कटल्याण्डलाई हराएको थियो। अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग पुनः प्रतिस्पर्धा गर्नेछ।