
काठमाडौं — आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२३ रन बनायो।
स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतकीय पारी खेले। उनले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै महत्वपूर्ण १०० रन बनाएका हुन्। त्यस्तै चार्ली टियरले ६८ रन तथा माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए।
बलिङतर्फ नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।
अब नेपालले जितका लागि ३२४ रनको चुनौती पार गर्नुपर्नेछ।