
धनगढी — हालसालै सरकारले लागू गरेको नयाँ कर संरचनाप्रति असन्तुष्टि जनाउँदै कैलाली सहित देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित बनेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीले सरकारको कर नीतिले व्यवसाय धराशायी बनाउने भन्दै तत्काल पुनर्विचार गर्न माग गरेका छन्।
संघका अध्यक्ष यदु सुनारले सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने भएकाले किनिएको मूल्य र बिक्री मूल्यमा फरक हुनु स्वाभाविक भएको बताए। तर, हालको कर संरचनाले व्यवसायमा घाटा पुर्याउने भन्दै उनले सरकारसँग तत्काल सुधारको माग गरे।
व्यवसायीहरूले विरोधस्वरूप कालो पट्टी बाँधेर काम गरिरहेका छन्। बिहीबार धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्तिपूर्ण र्याली निकाल्ने कार्यक्रम रहेको अध्यक्ष सुनारले जानकारी दिए।
व्यवसायीहरूको प्रमुख मागहरूमा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा जडित गहनामा लागू गरिएको १३ प्रतिशत भ्याट तत्काल हटाउने, सरलीकृत कर नीति निर्माण गर्ने, र भन्सार शुल्क ६ प्रतिशतमा कायम राख्ने समावेश छन्।
उनीहरूले सरकारले तत्काल सुनचाँदी कारोबारका लागि स्पष्ट नीति निर्माण नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। नयाँ कर संरचनाले व्यवसाय, रोजगारी र बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको व्यवसायीहरूको भनाइ छ।