धनगढीमा सुनचाँदी व्यवसायीको चाबी र्‍याली, कर प्रणाली विरुद्ध आन्दोलन तीव्र

धनगढी, कैलाली — सरकारले ल्याएको नयाँ कर प्रणालीको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। आन्दोलनका क्रममा उनीहरूले आज धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालयसम्म हातमा चाबी बोकेर विरोध र्‍याली निकालेका छन्।

व्यवसायीहरूले नयाँ कर प्रणाली खारेजीको माग गर्दै देशभर आन्दोलन थालेका हुन्। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम सुरु भइसकेको र आन्दोलन नियमित रूपमा जारी रहने नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले जानकारी दिए।

सुनारका अनुसार सुनचाँदी तथा हिरा जडित गहनामा पुनः बिक्री प्रक्रिया स्वाभाविक रहेको र बिक्री मूल्य किनिएको मूल्यभन्दा फरक हुने हुँदा हालको कर प्रणालीले व्यवसायलाई घाटामा पुर्‍याउने खतरा छ। उनले हाल लागु भएको १३ प्रतिशत भ्याट हटाउन, सरलीकृत कर नीतिहरू निर्माण गर्न र निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउन माग गरे।

व्यवसायीहरूले कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नुपर्ने मागसमेत अघि सारेका छन्। हालको कर व्यवस्थाले नेपाली बजारलाई भारतीय बजारभन्दा महँगो बनाउने र यसले कालोबजारी तथा चोरी पैठारी बढाउने सम्भावना रहेको उनीहरूको दाबी छ।

सरकारले तत्काल समस्या समाधानका लागि वार्ता गर्नुपर्ने माग गर्दै व्यवसायीहरूले चेतावनी दिएका छन्— यदि माग पूरा नभए थप कडा आन्दोलन हुनेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै