
धनगढी — सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले केन्द्रको उद्घाटन गर्दै संघीय र प्रदेश सरकारको सहयोगमा सेवा सुरु गरिएको जानकारी दिए।
डाक्टर पाण्डेका अनुसार गत वर्ष नै सेवा सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले केही ढिलो भएको थियो। अब सुदूरपश्चिम प्रदेशका निःसन्तान दम्पतीले काठमाडौं वा भारत जानु नपर्ने र सहज रूपमा धनगढीमै सेवा लिन सक्ने उनले बताए।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर खगेन्द्र भट्टले निःसन्तान समस्याका विभिन्न उपचार पद्धतिहरू रहेको जनाउँदै प्रारम्भिक चरणमा ‘आईयुआई’ (Intrauterine Insemination) सेवा सुरु गरिएको जानकारी दिए।
भट्टका अनुसार पुरुष र महिलाको सामान्य प्रजनन परीक्षण, पुरुषको विर्य विश्लेषण, परामर्श, र गोपनीयताका साथ सेवा उपलब्ध हुनेछ। सेवा सहज र सस्तो बनाउन साढे ७ हजार रुपैयाँको प्याकेजमा उपचार सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ।
विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशत दम्पती निःसन्तान समस्याबाट प्रभावित हुने तथ्यांक रहेको र नेपालमा पनि करिब १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट पीडित हुने अनुमान गरिएको छ।
डाक्टर भट्टले सेवा विस्तार गर्दै भविष्यमा थप प्रविधि र उन्नत उपचार सुविधा सुरु गर्ने योजना रहेको बताए। सेवा सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका निःसन्तान दम्पतीका लागि यो एक महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।