कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दाइजो प्रथालाई सामाजिक स्तरमै अन्त्य गर्न सबै नेपाली समाजलाई एकजुट भई आवाज उठाउन आग्रह गरेका छन्। कानुनले निषेध गरेको दाइजो प्रथा जस्तो कुप्रथा समुदाय स्वयंबाटै अन्त्य हुनुपर्ने प्रदेश प्रमुख मियाँले स्पष्ट पारे।
ओल्मा काउन्सिल नेपाल, नवलपरासीद्वारा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा मुस्लिम समुदायले दाइजो प्रथालाई औपचारिक रूपमा अन्त्य गर्ने ऐतिहासिक घोषणा गरेका छन्। धर्मगुरुहरूले इस्लाम र नेपालको संविधानले दाइजो प्रथालाई अस्वीकार गरेको भन्दै अबदेखि दाइजो लिने वा दिने विवाह नगराउने दृढ संकल्प व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना जहीरले गरेका थिए। संविधानसभा सदस्य हाजी अलाउद्दीन अंसारी, नेपाल हज समितिका केन्द्रीय अध्यक्ष जबूल मियाँ, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, ओल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मजहरी र जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा अमीरुल्लाह मियाँले सञ्चालन गरेका थिए भने सोही अवसरमा जिल्ला मदरसा, मस्जिद, दरगाह तथा कब्रिस्तान संरक्षण समिति गठन गरिएको छ।
प्रमुख अतिथिहरूले मुस्लिम समुदायमा सामाजिक सुधार र दाइजो प्रथा अन्त्यका लागि गरिएको यो पहल ऐतिहासिक कदम भएको बताएका छन्। कार्यक्रमकै क्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदा, परासी क्याम्पस प्रमुख सुमन गोपाल आचार्य, आई ग्लोब हस्पिटलका प्रमुख देवकुमार यादव र डा. आफ्ताब आलमलाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रदेश प्रमुख मियाँको भव्य स्वागत गरिएकाे उक्त कार्यक्रम मुस्लिम समुदायभित्र सामाजिक रुपान्तरणको दिशामा महत्वपूर्ण मोडको रूपमा लिइएको छ।