वन मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन, अनुदान प्रकरणमा संलग्नता आरोप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट जेठ ४ गते मन्त्री नियुक्त भएका चौधरीमाथि अनुदान वितरणमा अनियमितता गरेको आरोप लागेपछि मुख्यमन्त्रीले राजीनामा मागेका हुन्। कैलाली र कञ्चनपुरमा पावर टिलर र ट्याक्टर अनुदानमा वितरण गर्ने भन्दै ठगीको घटना बाहिरिएपछि मन्त्री चौधरीमाथि समेत संलग्नताको आशंका गरिएको हो।

मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रति पहिल्यै असन्तुष्ट रहेको र पछिल्ला घटनाले गम्भीर बनाएको स्रोतले जनाएको छ। रामेश्वर चौधरी कृषि मन्त्री हुँदा पनि अनुदानका नाममा किसानसँग रकम असुल्ने समूहसँग उनको नाम जोडिएको थियो।

यस प्रकरणमा संलग्न भनिएकी सुरो नेपालकी अध्यक्ष सुशिला खड्कासहित कञ्चनपुर प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ भने कैलालीमा समेत जाहेरी दर्ता भएको छ।

हाल मन्त्री चौधरी आन्तरिक छलफलमा जुटेका छन् र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूसँग परामर्श गरिरहेका छन्।

यसअघि तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरी पनि दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक लेनदेनको योजना बनाएको आरोपपछि राजीनामा दिएका थिए। त्यसपछि चौधरीको स्थानमा रामेश्वर चौधरी मन्त्री बनेका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै