धनगढी, ८ असार। कैलाली जिल्लाको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को गाउँसभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।
बजेट अनुसार संघीय सरकारबाट ६० करोड ७६ लाख ४६ हजार प्राप्त हुने अनुमान गरिएको छ। यसमा सर्मिकरण अनुदान १४ करोड १८ लाख, राजस्व बाँडफाँड १२ करोड ८२ लाख ४६ हजार, सशर्त कार्यक्रम ३० करोड ५७ लाख, विशेष अनुदान ५४ लाख र समपूरक अनुदान २ करोड ६५ लाख रुपैयाँ रहेका छन्।
प्रदेश सरकारबाट ३ करोड २६ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। जसमा सर्मिकरण अनुदान १ करोड ४३ लाख ८२ हजार, राजस्व बाँडफाँड ४३ लाख ४ हजार, समपूरक अनुदान ८५ लाख र विशेष अनुदान ५५ लाख रुपैयाँ रहेका छन्।
गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ९७ लाख रुपैयाँ संकलन गरिने अनुमान गरिएको छ। यस्तै गैसस कार्यक्रमतर्फ ५ करोड २४ लाख ७१ हजार विनियोजन गरिएको छ।
गाउँसभाको पहिलो बैठक उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा बसेको थियो। बैठकमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।