
धनगढी । धनगढी उपमहानगरपालिकाले समाजका पछाडि पारिएका वर्गको शैक्षिक पहुँच विस्तार गर्न विशेष छात्रवृत्ति कार्यक्रम ल्याउने भएको छ। आगामी आर्थिक वर्षदेखि लागू हुने यस योजनाअन्तर्गत कक्षा ८ देखि स्नातक तहसम्म अध्ययनरत दलित छात्राहरुलाई छात्रवृत्ति दिइने छ।
विद्यालय तहका कक्षा ८ देखि १० सम्मका दलित छात्राहरुलाई ‘दलित अभियन्ता जुठे दमाइ छात्रवृत्ति कार्यक्रम’ मार्फत वार्षिक दुई हजार रुपैयाँसम्मको शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइने उपमहानगरले जनाएको छ। त्यस्तै, कक्षा ११, १२ र स्नातक तहमा विज्ञान, शिक्षा, कानुन र कृषि अध्ययन गर्ने दलित छात्राहरूका लागि ‘दलित अभियन्ता टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ लागू गरिनेछ।
नगर प्रमुख गोपाल हमालका अनुसार, यस कार्यक्रममार्फत दलित छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरिनुका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ। छात्रवृत्ति कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था समेत उपमहानगरले गरिसकेको जनाएको छ।
साथै, उपमहानगरले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक तथा कर्मचारी पुरस्कृत गर्ने, एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्ने लगायतका योजना ल्याएको छ। समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५६ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा १७.२२ प्रतिशतले वृद्धि भएको हो।