एसईई पूरक परीक्षा साउन २९ देखि, बिहान ८ बजेदेखि सञ्चालन हुने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

शुक्रवार सार्वजनिक एसईई नतिजामा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा कुनै विषयमा अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन सक्नेछन्।

यस वर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। नियमित परीक्षामा सहभागीमध्ये ४ लाख ३८ हजार ८९६ जना परीक्षार्थी थिए, जसमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डले दिएको विवरणअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार १७७ छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना रहेका छन्। यस्तै २ देखि २.४ जीपीए ल्याउने ४,१२६ विद्यार्थी छन्।

बोर्ड अध्यक्ष महाश्रम शर्माले १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिए। वर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको छ।

यस वर्षको नियमित एसईई परीक्षा २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन गरिएको थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै