धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ।
मंगलबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको विधेयकसहितको बजेटलाई समर्थन गर्दै पारित गरेको हो। बजेट कार्यान्वयनका लागि आवश्यक अर्थसम्बन्धी विधेयक पनि सभाबाट पारित गरिएको छ।
बजेटमा चालू खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाखभन्दा बढी छुट्याइएको छ। यस्तै, अन्तरवित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
चार दिनसम्म चलेको बजेट छलफलमा सत्ता र प्रतिपक्ष दुवै पक्षका २७ जना सांसदले भाग लिएका थिए। छलफलका क्रममा सांसदहरूले बजेटको विभाजन, प्राथमिकता र कार्यान्वयन क्षमताको विषयमा आलोचना गरेपनि अन्ततः बजेट पारित गर्ने निर्णयमा एकमत भएका थिए।