
धनगढी । हुलाक सेवा निर्देशनालय कैलालीले मङ्गलबार सञ्चार उद्यमी तथा सञ्चारकर्मीसँग हुलाक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा हुलाक सेवा निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले हुलाक सेवाको वर्तमान अवस्था, संरचना र सेवाको प्रभावकारिता सम्बन्धी प्रस्तुतिकरण गरे।
उनले प्रविधिको विकाससँगै नयाँ माध्यमहरू आए पनि हुलाक सेवाको प्रयोग अझै आवश्यक र सान्दर्भिक रहेको बताए। “संघीयताको कार्यान्वयनसँगै देशभर सातवटा हुलाक निर्देशनालय तथा ७५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय स्थापना भइसकेको छ,” उनले जानकारी दिए।
पाण्डेले हुलाक सेवाले टिकटमार्फत देशका कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारमा समेत योगदान दिँदै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापनको भुक्तानी प्रक्रिया सहज बनाउन समयमै बिल उपलब्ध गराउन सञ्चार माध्यमहरूलाई आग्रह गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. बीरेन्द्रकुमार मिश्रले हुलाक सेवाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै आजको आवश्यकता अनुसार यसलाई अझ परिस्कृत र प्रविधिमैत्री बनाइराख्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा संलग्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।