कैलाली कारागारको जेलरमा प्रकाश ढुंगाना पठाइए

धनगढी । हालै कैलाली कारागारमा भएको हिंसात्मक घटनापछि नयाँ जेलरको रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले नेपालगन्ज कारागारमा जेलरको जिम्मेवारी सम्हाल्दै आएका ढुंगानालाई कैलालीमा खटाएको हो।

गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा पठाइएका जालन्धर भुसालको अवधि सकिएपछि ढुंगानालाई स्थायी जिम्मेवारीका लागि पठाइएको हो।

कैलाली कारागारका नायब सुब्बा ज्ञानेन्द्र ओझाका अनुसार ढुंगाना शनिबार नै कारागारमा हाजिर भएका छन्। हिंसात्मक घटनामा ब्लक ए का कैदीबन्दीले भित्तामार्फत ब्लक बी का कैदीमाथि आक्रमण गरेका थिए।

सो क्रममा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनाको गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भएका छन् तर सुरक्षाको कारण देखाउँदै तत्काल कारागार फर्काइएको छैन।

डिस्चार्ज भएकामध्ये चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागार स्थानान्तरण गरिएको छ।

घटनापछि सुरक्षा निकायको कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ। उनीहरूको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै