कैलालीमा डाक्टर केसीको २३औं सत्याग्रह सुरू, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालनको माग

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन्। निजी मेडिकल कलेजमा सिट वृद्धिलाई सरकारले स्वीकृति दिएको विरोधमा उनले भदौ १५ गतेदेखि कैलालीमा तीन दिनको सत्याग्रह सुरू गरेका हुन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै डाक्टर केसीले सरकारलाई कठोर शब्दमा आलोचना गर्दै निजी मेडिकल कलेजहरूको दबाबमा भ्रष्टाचारलाई प्रश्रय दिइएको आरोप लगाएका छन्। उनका अनुसार, गुणस्तरीय चिकित्सा शिक्षा र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नुको साटो सरकारले माफियाको स्वार्थमा निर्णय गर्दै जनस्वास्थ्यलाई खतरा बढाएको छ।

“निजी मेडिकल कलेजहरूले विगतदेखि नै महँगो शुल्क असुल्दै आएका छन्। सिट संख्या बढ्दा गुणस्तर खस्किन्छ र स्वास्थ्य सेवा झन् महँगो हुन्छ,“ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

डाक्टर केसीले सरकारी अस्पतालहरूमा डाक्टर, जनशक्ति र स्रोत साधनको अभावका कारण ग्रामीण क्षेत्रमा हजारौं नागरिक उपचार नपाएर ज्यान गुमाइरहेको बताए। उनले विगतका सम्झौताहरू कार्यान्वयन नगरेसम्म र शिक्षा–स्वास्थ्य क्षेत्रमा देखिएको माफियाकरण अन्त्य नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।

यसअघि पनि उनले पटक–पटक सत्याग्रह र आमरण अनशनमार्फत सरकारलाई दबाब दिँदै चिकित्सा शिक्षा ऐन, मेडिकल कलेज शुल्क निर्धारण, सीट संख्या व्यवस्थापनजस्ता निर्णय गराउन भूमिका खेलेका थिए। तर, ती निर्णयहरूलाई सरकारले कार्यान्वयन नगरी फेरि उल्टो बाटो लिएको उनको गुनासो छ।

२३औं सत्याग्रहका लागि डाक्टर केसीले कैलालीको गेटा अस्पताललाई रोजेका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न र अस्पताललाई पूर्ण क्षमतामा ल्याउन दबाब दिन गेटामा सत्याग्रह सुरु गरिएको उनले बताएका छन्। साथै उनले शैक्षिक कार्यक्रम र अस्पताल २०८४ भित्रै सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै