
काठमाडौं । चैतन्य एकेडेमीले भदौ २७ र २८ गते धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा १३औं नीति सम्मेलन आयोजना गर्ने भएको छ। ‘नीतिदेखि समृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शीर्षकमा हुने सम्मेलनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नेछन् भने प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहनेछन्।
चैतन्य ग्रुपका सिइओ गणेश जोशीका अनुसार सम्मेलनमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, शिक्षा रूपान्तरण, सामाजिक समावेशिता, सुशासन अभ्यासदेखि आधुनिक प्रविधिको प्रयोगसम्बन्धी विषयमा गहिरो बहस हुनेछ। दुई दिनसम्म चल्ने कार्यक्रममा एक दर्जन सत्र रहने छन्।
नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रमा सक्रिय वरिष्ठ विज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, विचारक, अनुसन्धानकर्ता, समाजसेवी र सञ्चारकर्मीको सहभागिता रहने सम्मेलनले राष्ट्र निर्माणका विविध आयाममा नीतिगत संवाद र समाधान खोज्ने अपेक्षा गरिएको छ।
युवादेखि महिला, मधेस, जनजाति र सिमान्तकृत क्षेत्रका आवाजलाई प्राथमिकतामा राख्दै आशा, सम्भावना र सकारात्मकताको संदेश प्रवाह गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो। वरिष्ठ पत्रकार टिकाराम यात्रीले नीति बहसलाई सबै तहको सहभागिता रहेको महत्वपूर्ण अभियानका रूपमा व्याख्या गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा यसले टेवा पु¥याउँदै आएको बताए।