भारतीय केराले नेपाली व्यवसायी मारमा, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी । भारतबाट सस्तो मूल्यमा आयात हुने केराका कारण नेपाली किसान र व्यवसायी मारमा परेका भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाली किसानले लगानी, मेहनत र समय खर्च गरेर उत्पादन गर्ने गुणस्तरीय केरा आन्तरिक बजारमै उचित मूल्य र माग नपाउँदा किसान निराश हुनुका साथै आर्थिक क्षति व्यहोर्नुपरेको व्यवसायीहरूको गुनासो छ। उत्पादन लागत उठ्न नसक्दा धेरै किसान ऋणमा डुब्ने, घाटा सहनु पर्ने र अन्ततः केराखेतीमै निरुत्साहित भई विस्थापित हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारूले नेपाली केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिलाउनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व भएको बताए।

व्यवसायीहरूले माग गरेका प्रमुख बुँदामा मङ्सिरसम्म भारतबाट हुने केरा आयात पूर्णरूपमा रोक्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्ने, उपभोक्तालाई नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न सरकारमार्फत राष्ट्रिय आह्वान गर्ने, किसानको सुरक्षा गर्ने र बजार सुनिश्चित गर्दै उचित मूल्य दिलाउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै