धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवनको शिलान्यास गरिएको छ। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश सिंह धामीले भवनको शिलान्यास गरेका हुन्।
करीब १ करोड ४६ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य धामीले धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि गरेको प्रयास सराहनीय रहेको बताए। उनले सरकारी विद्यालयमा शिक्षण गर्ने तर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाउने परम्परा त्याग्न शिक्षक र अभिभावकहरूलाई आग्रह गरे।
धामीले विद्यालयमा राजनीति नगर्न सुझाव दिँदै सेवा भावनाका साथ काम गर्न शिक्षक र व्यवस्थापन समितिका सदस्यहरूलाई प्रेरित गरे। “हामी कुनै न कुनै राजनीतिक दलसँग जोडिएका छौँ, तर विद्यालयमा सेवा गर्न आस्था बाहिरै छोडेर आउनुहोस्,” उनले भने।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विद्यालय मर्ज कार्यक्रमदेखि प्रत्येक वडामा नमुना विद्यालय कार्यक्रम लागू गरिएको जानकारी दिए। उनले अभिभावकहरूलाई सरकारी विद्यालयप्रति सकारात्मक दृष्टिकोण राख्दै सामुदायिक विद्यालयको सुधारमा सक्रियतापूर्वक सहभागिता जनाउन आह्वान गरे।
कार्यक्रममा नगर उप–प्रमुख कन्दकला राना, विभिन्न वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती, डिभिजनल इन्जिनियर दिज राज भट्ट, जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
शिक्षा क्षेत्रको गुणस्तर सुधार र विद्यार्थीहरूको शैक्षिक वातावरणमा थप सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ निर्माण हुन लागेको यो भवनले चन्द्रोदय माध्यमिक विद्यालयलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।