
धनगढी । भूमि समस्या समाधान आयोग, कैलालीका नवनियुक्त सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
आयोगका विज्ञ सदस्यमा नियुक्त कमल सिंह राना र सदस्य दानबहादुर विश्वकर्मा ‘चित्रण’ ले मङ्गलवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
उनीहरूलाई भूमि समस्या समाधान आयोग, कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले शपथ ग्रहण गराएका छन्। दुवै जना नेकपा९एमाले० को कोटाबाट भूमि सम्बन्धी विज्ञ सदस्य र सदस्यमा नियुक्त भएका थिए ।
नेपाली काँग्रेस निकट एक जना व्यक्तिलाई नियुक्त गरेपछि भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पाउनेछ। शपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो तथा कैलाली इन्चार्ज नारदमुनी राना रहेका थिए। रानाले उनीहरूको कार्यकालमै कैलालीमा व्याप्त भूमि सम्बन्धी समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए।
अध्यक्ष उपाध्यायले समेत कैलालीमा एक लाख ३५ हजार भूमिहीन भएको बताउँदै आफ्नो नेतृत्वको समिति नै भूमि समस्या समाधान आयोगको अन्तिम समिति बनोस् भन्ने चाहाना व्यक्त गरे। उनले सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।