
धनगढी – राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता धनगढी रंगशालामा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका छन्।
प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा निङ्गलासैनी बैतडीले एएमसी धनगढीलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।
नेकपा एमालेका महासचिव पोखरेलको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता महेश बस्नेत, लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको विशिष्ट आतिथ्यता रहेको थियो।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै युवा वर्गलाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको भनाई छ।