फूलवारीमा अटिजम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


धनगढी, वैशाख १७। धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ अन्तर्गतको फूलवारी क्लस्टरमा अटिजम सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मंगलवार सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र उपसचिव गणेश बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो।

राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्लस्टर अन्तर्गतका विद्यालय प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब प्रतिनिधि र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा ‘अटिजम के हो?’, ‘अटिजम कसरी थाहा पाउने?’, ‘अटिजमका लक्षणहरू के-के हुन्?’, ‘अटिजम भएका बालबालिकासँग कस्तो व्यवहार गर्ने?’ लगायतका विषयमा जानकारीमूलक प्रस्तुति दिइएको थियो। सहभागीहरूलाई अटिजमको पहिचान, व्यवहारिक उपाय तथा सचेतनाबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले विद्यालय तथा समुदायस्तरमा अटिजमप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

अन्तरक्रिया कार्यक्रममा धनगढी उपमहानगरपालिका–१४ का अध्यक्ष मान बहादुर बिष्टले सभापतित्व गरेका थिए भने वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले स्वागत मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै