धनगढी–१६ भादामा होमस्टे पर्यटन प्रवर्द्धन कार्यशाला: उत्कृष्ट सामुदायिक होमस्टेहरुलाई राष्ट्रिय पुरस्कार वितरण गरिने

धनगढी, कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारा गाउँ विकास समितिको आयोजनामा धनगढी–१६ भादामा होमस्टे (घरबास) पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ।

उक्त गोष्ठीमा पर्यटनविद् डा. अलकबाबु  प्रसाईले “आन्तरिक शुशासन ” विषय र  रैथाने कृषि तथा  होमस्टे अभियन्ता तथा बिज्ञ तिलक बहादुर ढकालले ” दिगो होमस्टे पर्यटनको आधार ” विषयमा  अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। प्रस्तुत कार्यपत्रहरूमा गोष्ठीमा सहभागी सरोकारवालाबीच छलफल र अन्तरक्रिया गरिनेछ।

गोष्ठीका माध्यमबाट होमस्टे पर्यटन प्रवर्द्धनमा देखिएका चुनौतीहरूको पहिचान र समाधान, साथै नीति, योजना तथा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम स्थलमा सहभागी होमस्टे सञ्चालकहरूले तयार पारेका स्थानीय परिकार, हस्तकलाका सामग्री, भ्रमण प्याकेज र प्रचार–प्रसारसम्बन्धी स्टलहरू प्रदर्शन गरिनेछ। साथै विविध जातजातिका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् जसबाट सुदूरपश्चिमको समृद्ध संस्कृति र कला उजागर हुनेछ।

कार्यक्रमको उद्घाटन सत्रमा देशभर सञ्चालनमा रहेका सामुदायिक होमस्टेहरूमध्ये उत्कृष्ट तीन होमस्टेहरुलाई राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बदी प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने होमस्टेहरुलाई क्रमशः रु. १ लाख, रु. ७५ हजार र रु. ५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुहुनेछ।

तारा गाउँ विकास समितिको अगुवाइमा २०६७ सालदेखि होमस्टे पर्यटन प्रवर्द्धनमा निरन्तर कार्य हुँदै आएको छ। हालसम्म करिब १५०० होमस्टे विधिवत रूपमा दर्ता भई अधिकांश सञ्चालनमा छन्। यी होमस्टेहरूले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

समितिले ग्रामीण पर्यटन विकासका लागि सञ्चारकर्मीहरूसँग सकारात्मक सहयोगको अपेक्षा गर्दै कार्यक्रमको सफलताको पक्षमा जनचेतनामूलक र प्रभावकारी समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै