
धनगढी, कैलाली — धनगढी उपमहानगरपालिकाले आइतवारदेखि उपमहानगर क्षेत्रका विभिन्न खानेपानी स्रोतहरूको गुणस्तर परीक्षण सुरु गरेको छ। बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले समयमै पूर्वसतर्कता अपनाउँदै नगरले पानीको स्वच्छता परीक्षण थालेको हो।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खानेपानी वितरण हुने सबै ट्याङ्की र अन्तिम वितरण बिन्दुहरूबाट पानीका नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण पठाइएको छ। परीक्षणमा पानीको धमिलोपन, अम्लीयता, झाडापखालाका किटाणु लगायतका विषयमा परीक्षण गरिँदैछ।
शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट परीक्षण सुरु गरिएको छ भने उपमहानगरभित्रका सबै खानेपानी निगम, डिपो, संस्थान, बोरिङ तथा नल्का प्रयोगकर्ताहरूको पानी पनि परीक्षणमा समावेश गरिने जनाइएको छ।
नगरका बासिन्दालाई खानेपानीजन्य रोगबाट जोगाउन पूर्वतयारीस्वरूप गरिएको यो परीक्षणबाट पानीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुने उपमहानगरले जनाएको छ।
अहिलेको परीक्षणबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक सुधारका कामहरू अघि बढाइने पनि उपमहानगरपालिकाले जनाएको छ।