
कैलाली । मानवसेवा आश्रमको कैलाली शाखाले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ बाट चार करोड ७४ लाख ३० हजार ४३५ रुपैयाँ संकलन गरेको छ।
२०७८ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरिएको महायज्ञबाट नगद, क्युआर, अनलाइन र चेकमार्फत ८१ लाख ८१ हजार ९७८ रुपैयाँ संकलन गरिएको हो। बाँकी तीन करोड ९२ लाख ४८ हजार ४५७ रुपैयाँ विभिन्न निकाय र व्यक्तिहरूको प्रतिबद्धताबाट जुटाइएको आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार प्रतिबद्धता रकममध्ये हालसम्म १४ लाख ८२ हजार ४६ रुपैयाँ प्राप्त भइसकेको छ। सरकारी निकायबाट २७ लाख ८१ हजार ११२, संस्थागत स्रोतबाट दुई करोड ४८ लाख ९९ हजार ५८४ र व्यक्तिगत रूपमा एक करोड १३ लाख २६ हजार ५७४ रुपैयाँ प्रतिबद्धता गरिएको छ।
त्यस्तै, महायज्ञमा १ लाख ४४ हजार २५० रुपैयाँ दान पेटिकाबाट, ८३ हजार २५२ गोप्यदानबाट र १३ हजार ६७५ रुपैयाँ बराबरको जिन्सी दान प्राप्त भएको आश्रमले जनाएको छ।
महायज्ञ सम्पन्न गर्न ४९ लाख ६८ हजार ८६५ रुपैयाँ खर्च भएको थियो।
उक्त महायज्ञ सुदूरपश्चिम प्रदेशस्तरीय मानवसेवा आश्रम भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको थियो। आश्रमको भवन धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माणाधीन छ।
भवन सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका २५० जना सडक आश्रित सहयोगापेक्षी नागरिकलाई आश्रय र सेवा उपलब्ध गराइनेछ। आश्रमले २०७५ मङ्सिर १ गतेबाट कैलाली शाखाको सेवा तारानगरमा घर भाडामा लिएर सुरु गरेको हो।