सुदूरपश्चिममा कैलाश चौधरीलाई वन मन्त्री बनाउन अध्यक्ष रन्जिताको पत्र

धनगढी, बैशाख ३१ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका लागि कैलाश चौधरीको नाम सिफारिस गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार उक्त सिफारिस पत्र प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पठाएकी हुन्।

कैलाली क्षेत्र नं. १ (क) बाट निर्वाचित चौधरीलाई मन्त्री बनाउन पार्टी केन्द्रले गरेको निर्णयअनुसार यो सिफारिस गरिएको हो। मंगलबार धनगढीमा बसेको संसदीय दलको बैठकले एक साता भित्र मन्त्रीको नाम टुंगो लगाउन नसकेमा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, “प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका लागि कैलाश चौधरीलाई पार्टी निर्देशनअनुसार सिफारिस गरिएको जानकारी गराउँदछु।”

यसअघि विवादास्पद अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए। त्यसयता डेढ महिनासम्म मन्त्रालय नेतृत्वविहीन थियो।

पार्टी स्रोतका अनुसार सिफारिसको जानकारी प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयमा समेत गराइएको छ। अब मन्त्री नियुक्तिमा ढिलाइ नहुने नाउपाले जनाएको छ।

यता मुख्यमन्त्री शाहले भने आफूले औपचारिक रूपमा सिफारिसको पत्र प्राप्त नगरेको प्रतिक्रिया दिएका छन्। तर उनले पार्टीको सिफारिस प्राप्त भएलगत्तै मन्त्री नियुक्त गरिने स्पष्ट पारेका छन्।

वन मन्त्रालय नेतृत्वविहीन हुँदा नीति तथा कार्यक्रम र बजेट निर्माणमा असर परेको भन्दै अब चाँडै नियुक्ति हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै