
धनगढी — नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफम अर्थात् दिशाजन्य जीवाणु भेटिएको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले नगरका विभिन्न वडाबाट संकलन गरेका ४५ वटा पानीका नमुनाको परीक्षण गर्दा जुगेडास्थित खानेपानी संस्थानको मुल टंकीको पानीमा कोलिफम फेला परेको हो।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार जुगेडाको टंकीको नमुनामा पहिलोपटक प्रति १०० मिलिलिटर पानीमा ४ सिएफयू र दोस्रोपटक २ सिएफयू कोलिफम भेटिएको हो। यस्तै अधिकांश सार्वजनिक नल, डिप बोरिङ र घरायसी धारामा समेत कोलिफमको उपस्थित रहेको पुष्टि भएको छ।
वडा नं. १७ को आधारभूत स्वास्थ्य केन्द्रको आर्टिजन र वडा नं. १८ को वडा कार्यालयको हातेपम्पको पानीमा प्रति १०० मिलिलिटरमा १०० सिएफयू कोलिफम भेटिएको छ। अन्य वडामा पनि स्थिति गम्भीर छ – वडा १६ को विद्यालयको डिप बोरिङमा १० सिएफयू, वडा १४ को स्वास्थ्य केन्द्रको फिल्टर पानीमा ४० सिएफयू र वडा १९ को स्वास्थ्य चौकीको हातेपम्पमा २० सिएफयू कोलिफम पाइएको हो।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी पाइपलाइन फुटेको, टुटी फोहोर भएको, र भाडाहरू सफा नगरेको कारण दूषित हुने गरेको पाइएको छ। क्लोरिनेसन गर्नेसम्बन्धी तालिम प्राप्त जनशक्ति संस्थानसँग नभएको पनि खुलेको छ। यद्यपि संस्थान प्रमुख शैलेन्द्रकुमार साहले क्लोरिन प्रयोग भइरहेको दाबी गरेका छन्।
स्वास्थ्य शाखाका अनुसार नल र सेफ्टी टंकीबीचको न्यूनतम ५० फिट दूरी नहुनु पनि पानी दूषित हुनुको एक मुख्य कारण हो। स्वास्थ्य विशेषज्ञहरूले पानी भण्डारण गर्ने भाडा र फिल्टर नियमित सफा नगरेमा कोलिफम बढ्न सक्ने चेतावनी दिएका छन्।
सार्वजनिक र निजी पानीका स्रोतहरूमा नियमित क्लोरिनेसन, फुटेको पाइपको मर्मत, र सरसफाइमा ध्यान दिनु आवश्यक छ। खानेपानीसँग सम्बन्धित कर्मचारीलाई तालिम दिने र मापदण्ड अनुसार सेफ्टी टंकी तथा धाराबीचको दूरी कायम गर्न उपमहानगरले आग्रह गरेको छ।