धनगढी, जेष्ठ १ – धनगढी उपमहानगरपालिका–४ स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यमिक विद्यालयले आफ्ना ५५० विद्यार्थी तथा कर्मचारीहरूको लागि नेको इन्स्योरेन्स कम्पनीसँग दुर्घटना बीमा सम्झौता गरेको छ।
बुधवार सम्पन्न बीमा सम्झौता पत्रमा विद्यालयका प्रिन्सिपल लोकराज पन्त र नेको इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख भरतबहादुर रावलले हस्ताक्षर गरेका थिए।
विद्यालयका प्रिन्सिपल पन्तका अनुसार बीमा अन्तर्गत विद्यार्थी र कर्मचारीले दुर्घटनाको अवस्था आएको खण्डमा अधिकतम एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउनेछन्। नेपालमा उपचार खर्च महँगो भएकाले आकस्मिक दुर्घटनामा अभिभावकलाई आर्थिक राहत होस् भन्ने उद्देश्यले बीमा गराइएको उनले बताए।
शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइएको विद्यालयले यस शैक्षिक सत्रदेखि “क्रियटिभ फ्राइडे” नामक कार्यक्रममार्फत हरेक शुक्रबार विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराइरहेको जानकारी पन्तले दिए।
सम्झौतामा हस्ताक्षर गर्दै प्रदेश प्रमुख रावलले विद्यार्थीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न अभिभावकहरू अझ बढी सचेत हुनुपर्ने बताए। उनले सानो बीमा शुल्कले भविष्यमा आइपर्न सक्ने ठूला आर्थिक समस्याबाट जोगाउने उल्लेख गरे।
सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्स सुदूरपश्चिममा सक्रिय हुँदै आएको छ। पछिल्लो समय कम्पनीले बीमा सेवासँगै सामाजिक कार्यहरूमा पनि सक्रियता बढाएको छ।