धनगढीमा ‘चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता’ जेठ १५ देखि सुरु हुने

धनगढी –सुदूरपश्चिमको खेलकुद क्षेत्रलाई अझ व्यवस्थित बनाउने उद्देश्यसहित चैतन्य पाठशाला, धनगढीले चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ आयोजना गर्न लागेको छ। प्रतियोगिता जेठ १५ देखि १७ गतेसम्म धनगढी–५, शिवनगरस्थित चैतन्य पाठशालाको फुटसल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन विशेष शैलीमा हुने बताइएको छ। युवा वैज्ञानिक आर्यान विकले निर्माण गरेको नयाँ आर्सी प्लेनको उडानबाट प्रतियोगिताको औपचारिक उद्घाटन गरिनेछ। प्रमुख अतिथि ओलम्पियन तथा राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट रहनेछन्।

पाठशालाको भगिनी संस्था चैतन्य तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगिता सेन्सर सिस्टम प्रयोग गरेर गरिनेछ, जसले निष्पक्षता र प्रविधिमैत्री खेल प्रबर्धनमा सघाउनेछ। सुदूरपश्चिमका सबै जिल्लाबाट करिब २०० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले, “खेलकुदमार्फत सुदूरपश्चिमका युवाहरूलाई अगाडि बढाउने हाम्रो लक्ष्य हो,” भन्दै यसअघि नगर र जिल्ला तहमा प्रतियोगिता गरिसकेको अनुभव सुनाए।
त्यसैगरी, पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले तेक्वान्दो सुदूरपश्चिमको मौलिकता बनेको र यताबाटै ओलम्पिकसम्म पुग्ने खेलाडीहरू निस्किएको उल्लेख गर्दै भविष्यमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरे।

प्राचार्य प्रेमनिधि ओझाले चैतन्य पाठशालाले शिक्षा, संस्कार र खेललाई एकैसाथ जोडेर समाजका लागि सक्षम नागरिक उत्पादन गर्दै आएको बताए।

पुरस्कार र सहभागिता विवरण

प्रतियोगिताका लागि कैलाली जिल्लाका खेलाडीहरूलाई रु ५००अन्य जिल्लाका खेलाडीहरूलाई रु १००० दर्ता शुल्क तोकिएको छ।
नगद पुरस्कार:

  • प्रथम टिम: रु ५०,०००

  • द्वितीय टिम: रु ३०,०००

  • तृतीय टिम: रु २०,०००

  • ‘वेस्ट फाइटर’ (पुरुष/महिला): जनही रु ५,०००

प्रायोजक र सहकार्य

प्रतियोगिताको मुख्य प्रायोजक दहपाल बुक्स एन्ड स्टेशनरी रहेको छ भने सह–प्रायोजक राज ग्रुपप्रवर्धक धनगढी उपमहानगरपालिका वडा नं ५ रहेको छ।

करिब रु ७ लाख ७५ हजार लागत अनुमान गरिएको प्रतियोगितालाई भव्य बनाउन आयोजकले विभिन्न संघसंस्था, व्यवसायी तथा उद्योगीहरूलाई सहकार्य र प्रायोजनका लागि आह्वान गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै