
काठमाडौं – आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिम र मध्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायूको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायू सक्रिय रहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहने जनाइएको छ। कोशी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
आज राति पनि कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी ठाउँमा मुख्यतः मौसम सफा रहनेछ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।