
धनगढी — देशको पश्चिम र मध्य भू–भागमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्षको मनसुन २०८२ जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरिसकेको छ र कोशी प्रदेशमा यसको प्रभाव विस्तार भएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ। आज पनि कोशी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा यस्तो खालको वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेकोले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।