धनगढीमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम हुने

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिने भएको छ। जेडी एसोसियट्सको आयोजनामा र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा जेठ ३१ गते धनगढीमा कार्यक्रम हुने भएको हो।

आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीका अनुसार, ‘सिनेमा संवाद’ कार्यक्रम बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने खुला मंच हुनेछ। कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजार चुनौती र सिनेमा–समाज सम्बन्धका विविध पक्षमा गहिरो छलफल गरिनेछ।

कार्यक्रमले सुदूरपश्चिममा बढ्दो चलचित्र चासोलाई व्यवस्थित ढंगले अघि बढाउने, स्थानीय प्रतिभालाई उजागर गर्ने र चलचित्रमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा नेपाली चलचित्रको गहिरो पक्षबारे खुला संवादको अभाव रहेको र ‘सिनेमा संवाद’ कार्यक्रमले उक्त अभाव पूर्ति गर्ने बताएका छन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त र उपासना सिंह ठकुरी लगायतका कलाकारहरूको सहभागिता रहनेछ।

सर्वसाधारण र चलचित्र प्रेमीका लागि कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले यो कार्यक्रम सिनेमा र समाजबीचको सम्बन्ध बुझ्न चाहने सबैका लागि सुनौलो अवसर हुने बताएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै