शिवशक्ति सामुदायिक वनद्वारा ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण, वन संरक्षण र स्वास्थ्यमा सकारात्मक प्रभावको अपेक्षा

धनगढी । धनगढी उपमहानगरपालिका–११ बेलास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरेको छ। समूहले वन संरक्षण र दाउराको खपत घटाउने उद्देश्यले १०० जना उपभोक्तालाई विद्युतीय चुलो वितरण गरेको हो।

समूहका अध्यक्ष रामचरण रानाले वन जोगाउने र घरायसी स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। उनले विद्युतीय चुलोले दाउराको विकल्प प्रदान गरी वन संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

एन फेकोफनका महासचिव डन्डिराज सुवेदीले विद्युतीय चुलो प्रयोगले धुवाँरहित खाना पकाउने वातावरण सिर्जना गरी महिलाहरूको स्वास्थ्यमा सकारात्मक असर पार्ने बताए। उनले यस्तो कार्यक्रमले दीर्घकालीन रूपमा वन संरक्षणमा ठूलो सहयोग पुग्ने उल्लेख गरे।

सबडिभिजन वन कार्यालय धनगढीका प्रमुख किशोर धामीले यस्ता सकारात्मक काम गर्ने समूहहरूलाई प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्था गरिने जानकारी दिए। उनले वातावरणीय प्रभाव घटाउने यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले अस्थायी प्रहरी पोस्ट घोडसुवा लाई १० वटा कुर्सी समेत प्रदान गरेको थियो।
कार्यक्रममा सबडिभिजन वन कार्यालयका प्रमुख किशोर धामी, महासचिव डन्डिराज सुवेदी, वडा नं। ११ का प्रतिनिधि लालबहादुर महत, कल्पवृक्ष संस्थाका राजेन्द्र कार्की, नगर महासंघ अध्यक्ष श्याम बिष्ट, प्रहरी हर्कबहादुर कुँवर, पत्रकार तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै सामुदायिक हितका विभिन्न कार्यहरू र जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै