
धनगढी — कैलाली जिल्लामा बाढी र पहिरोको जोखिम न्यूनीकरणका लागि १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ। महाकाली बेसिन कार्यालयका अनुसार स्थानीय समुदाय र सरोकारवालालाई समयमै बाढीसम्बन्धी पूर्वसूचना दिन यस्ता केन्द्रहरू स्थापना गरिएको हो।
कैलालीका साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायतका क्षेत्रमा वर्षामापन केन्द्रहरू राखिएका छन्।
महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जय साहले गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको उच्च जोखिममा रहेको र टीकापुर, जानकी, कैलारी, भजनी र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेको जानकारी दिए।
प्रमुख साहका अनुसार कर्णाली, मोहना, खुटिया, घुरहा, कान्द्रा, लिक्मा, काँढा, पथरैया, रौरा र ठूलीगाडलगायतका नदीहरूले विभिन्न पालिकामा डुबान र बाढीको असर पु-याउने भएकाले सोही अनुसार पूर्वतयारी थालिएको छ।
नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले मनसुन आउनु अघि नै जिल्लामा पूर्वसूचना प्रणाली सक्रिय बनाइएको जानकारी दिए। प्रदेश सरकार पनि मनसुनजन्य विपद् प्रतिकार्य योजना अद्यावधिक गर्दै तयारीमा जुटेको प्रदेशका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले जानकारी गराए।
यस वर्ष कैलालीमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको र डुबान जोखिम बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न सरोकारवालाहरुलाई आग्रह गरिएको छ। कृषक र स्थानीय बासिन्दालाई समयमै विपद् सम्बन्धी सूचना लिन र सतर्क रहन महाकाली बेसिन कार्यालयले अनुरोध गरेको छ।