भारतबाट फर्किएका कोरोना सङ्क्रमित सिधै घर पठाइँदै, करोडौं खर्चिएको होल्डिङ सेन्टर प्रयोगबिहीन

धनगढी । भारतबाट फर्किने क्रममा सीमास्तरमै कोरोना परीक्षण गर्दा संक्रमित पुष्टि भएका व्यक्तिहरूलाई सिधै घर पठाउने गरिएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेशका मुख्य नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाटमा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ। यद्यपि संक्रमित देखिएकाहरूलाई होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध नगरी सिधै घर पठाइँदै आएको छ।

सङ्क्रमितहरूलाई घरमै आइसोलेसनमा बस्ने सर्तमा पठाइए पनि यसले समुदायमा संक्रमण फैलिने जोखिम बढाएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। स्वास्थ्यकर्मीहरूले सीमामा परीक्षणपछि संक्रमित देखिएमा उनीहरूलाई कम्तीमा एक हप्तासम्म होल्डिङ सेन्टरमा राखेर निगरानी गर्नु उपयुक्त हुने बताएका छन्।

यसैबीच, भारतबाट फर्किएकालाई क्वारेन्टिनमा राख्न २०७८/७९ मा कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर अहिले प्रयोगबिहीन बनेको छ। २८ करोड ८१ लाख १२ हजार रुपैयाँ खर्चेर बनाइएको उक्त संरचना जीर्ण हुँदै गएको छ।

होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टिन कोठा, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। तर, प्रयोग नहुँदा संरचनाहरू खुइलिन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टर प्रयोगबारे कुनै निर्देशन नआएको स्पष्ट पारेका छन्। यसले समन्वय अभाव र जनस्वास्थ्यप्रति सरकारको लापरवाही देखाएको स्थानीयबासीको गुनासो छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै