
कैलाली — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको अन्धाधुन्ध दोहन रोक्नुपर्नेमा जोड दिँदै यसको संरक्षणबिना प्राकृतिक विपद् नियन्त्रण असम्भव हुने बताएका छन्।
११औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा आयोजित कार्यक्रममा बोल्दै उनले चुरे क्षेत्र असन्तुलित हुँदा मधेस र तराई जोखिममा पर्ने उल्लेख गरे। “चुरे सन्तुलनमा छैन भने मधेस सुरक्षित हुँदैन,” उनले भने, “चुरे आफैंमा अस्थिर पर्वतशृंखला भएकाले यसको संरक्षणमा सबैले गम्भीरता देखाउनु आवश्यक छ।”
उनले बाढी, पहिरो, खडेरी, जमिन भासिनेजस्ता प्राकृतिक विपद् चुरे दोहनकै कारण बढिरहेको बताएका थिए। कार्यक्रममा चुरे संरक्षणका सवालमा सरकार, स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।