
टिकापुर, कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले सुदूरपश्चिमको पहिचान जोगाउन मौलिक कला र संस्कृतिको संरक्षण अपरिहार्य भएको बताएका छन्।
शनिबार टिकापुरमा खप्तड सांस्कृतिक परिवारद्वारा आयोजित ‘खप्तड नृत्य तारा’ को फाइनल समारोहलाई सम्बोधन गर्दै उपकुलपति जोशीले मौलिक संस्कृतिको संरक्षणका लागि राज्यले ठोस नीति ल्याउनु पर्नेमा जोड दिए।
हालै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसम्बन्धी सामाजिक सञ्जालमा आएका आलोचनात्मक प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सम्बन्धित सबैलाई भ्रममा नपर्न आग्रह गरे। “यथार्थ नबुझी गरिने टिप्पणीले काम गर्ने मानिसको जोश घट्छ,” उपकुलपति जोशीले भने, “यस्ता भ्रमपूर्ण कुराप्रति संयमित हुन जरुरी छ।”
उनले प्रतिष्ठानलाई पूर्णता दिन जिम्मेवारी प्रदेश सरकारको रहेको स्पष्ट पार्दै आफू पदको लोभी नभएको र सरकारको जुनसुकै निर्णय स्वीकार हुने बताए। साथै प्रतिष्ठानलाई सशक्त बनाउन हालै मात्र ऐन संशोधन भइसकेको र छिट्टै कार्यसमिति विस्तार हुने संकेत पनि गरे।
जोशीले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रतिष्ठानलाई उपेक्षा गरिएको भन्दै दुःख व्यक्त गरे। सामाजिक विकास मन्त्रालयले पठाएको बजेट सिलिङभित्रै सीमित स्रोतसाधनमा प्रतिष्ठानले विशिष्ट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले दिए।
कार्यक्रममा खप्तड सांस्कृतिक परिवारका अध्यक्ष नवराज रिमालको अध्यक्षता, टिकापुरका पूर्व मेयर तपेन्द्र रावल, प्राचार्य डा. योगेन्द्र बजगाई, गायक चक्र बम, मोडेल शंकर बिसी लगायतको उपस्थिति थियो।
समारोहमा २५ जना प्रतिस्पर्धीले मौलिक नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।