
काठमाडौं इरान र इजरायलबीच जारी युद्धमा अमेरिका पनि सक्रिय रुपमा सहभागी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन महत्वपूर्ण परमाणु केन्द्रहरूमा आक्रमण गरेको पुष्टि गरेका छन्।
फोर्दो, नतान्ज र एस्फाहानस्थित परमाणु केन्द्रहरूमा अमेरिकी बमबारी भएको ट्रम्पले जनाएका छन्। ‘अमेरिकी विमानहरू सुरक्षित रुपमा फर्किएका छन्,’ ट्रम्पले भने, ‘हाम्रा महान् अमेरिकी सैनिकहरूलाई बधाई। विश्वमा यस्तो आक्रमण गर्न सक्ने क्षमता अरु कसैसँग छैन।’
ट्रम्पले अमेरिकी सेनाले ‘बंकर बस्टर’ बम प्रयोग गरेको पनि खुलाएका छन्। यो बम जमिन मुनि करिब ६० मिटर गहिराइसम्म पुगेर विस्फोट हुने शक्तिशाली बम हो। हालसम्म आक्रमणले कति क्षति पुर्यायो भन्ने विवरण भने सार्वजनिक भएको छैन।
इजरायलले १३ जुनदेखि इरानविरुद्ध सैन्य कारबाही गरिरहेको छ। अहिलेसम्म इजरायली आक्रमणमा १० इरानी परमाणु वैज्ञानिक, ३ सैन्य कमाण्डर र ४ सैनिकको मृत्यु भइसकेको इजरायली पक्षले जनाएको छ।
इरानको सबैभन्दा सुरक्षित परमाणु केन्द्र मानिने फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ र रुस तथा इरानको मिसाइल रक्षा प्रणालीले यसलाई सुरक्षा दिएको छ।
बीबीसीका अनुसार, फोर्दोमा युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धन गरिन्छ, जुन परमाणु बम बनाउने स्तर (९० प्रतिशत) नजिक छ। अमेरिकी बमबारीले फोर्दोमा पूर्ण क्षति पुर्याएको ट्रम्पले दाबी गरे पनि त्यसको यकिन विवरण आइनसकेको जनाइएको छ।
मानव अधिकारसम्बन्धी एजेन्सीहरूका अनुसार, १३ जुनयता इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० भन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जनाको मृत्यु र ३५०० बढी घाइते भएको पुष्टि गरेको छ।
इरानको आक्रमणमा इजरायलमा २४ जनाको मृत्यु भएको दाबी गरिएको छ।