
कञ्चनपुर, असार १० – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २ करोड २८ हजार ४५१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरपालिकाको १७औँ नगरसभामा नगरप्रमुखले बजेट प्रस्तुत गरेका हुन्।
बजेटको श्रोतमा आन्तरिक आम्दानीबाट ८ करोड, संघीय सरकारको समानीकरण अनुदानबाट १५ करोड १९ लाख र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। राजस्व बाँडफाँडमार्फत संघीय सरकारबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ र प्रदेश सरकारबाट ४७ लाख २१ हजार रुपैयाँ आउने अनुमान गरिएको छ।
नगरपालिकाले सामाजिक सुरक्षा कोषतर्फ मात्रै २५ करोड रुपैयाँ विनियोजन गरेको छ। यस्तै, संघीय सशर्त अनुदानबाट २५ करोड १ लाख र प्रदेश सशर्त अनुदानबाट १ करोड ९६ लाख रुपैयाँ विनियोजन हुने जनाएको छ।
अन्य शीर्षकमा संघीय समपुरक अनुदान ८३ लाख, प्रदेश समपुरक अनुदान २ करोड १० लाख, संघीय विशेष अनुदान ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदान ४० लाख रुपैयाँको अनुमान गरिएको छ।
यसअघि २०७८/८२ मा कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको थियो। यसपालि बजेटमा सामाजिक सुरक्षा, पूर्वाधार र समावेशी विकासलाई प्राथमिकता दिइएको बताइएको छ।