धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरसभाको १८औं अधिवेशनमार्फत मंगलबार उपप्रमुख भोजबहादुर बमले बजेट सार्वजनिक गरेका हुन्। सोही दिन सर्वसम्मत रूपमा उक्त बजेट पारित गरिएको छ।
बजेटमा संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, चालु तर्फको संघीय सशर्त अनुदान २३ करोड ३६ लाख र पुँजीगततर्फ एक करोड ४१ लाख प्रस्ताव गरिएको छ। साथै, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि मात्रै २७ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ।
आन्तरिक आम्दानीतर्फ मूल्य अभिवृद्धि करबाट १४ करोड ८६ लाख, घरजग्गा दर्ता दस्तुरबाट २ करोड ८० लाख, सवारी साधन करबाट ६३ लाख ४८ हजार र आन्तरिक राजस्वतर्फ ७ करोड ९ लाख ९५ हजार संकलन गर्ने प्रस्ताव छ।
नगरपालिकाले प्रशासकीय खर्चमा १५ करोड ७१ लाख ४० हजार, जनस्वास्थ्य प्रवर्द्धनमा एक करोड ६६ लाख, योजना तथा पूर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरेको छ।
११ वटै वडा कार्यालयहरूका लागि ९ करोड २२ लाख, नगर समपूरक कोषमा ३ करोड, शिक्षा, युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख, विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाले शिक्षा, खेलकुद, पूर्वाधार, विपद् व्यवस्थापनसँगै कृषि, पशुपालन, संस्कृति र भाषा प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ।
यसअघि नगरप्रमुख देवीदत्त कडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि मंगलबार नै सर्वसम्मत पारित गरिएको थियो।