मायामेट्रो अस्पतालका डाक्टरको पत्रकारमाथि अभद्र व्यवहार

धनगढी, ११ असार — धनगढीस्थित मायामेट्रो अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट न्युरोसर्जन डा. हरि पौडेलले पत्रकारमाथि अभद्र व्यवहार गरेका छन्। एक बिरामीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका पत्रकारहरूमाथि डा. पौडेलले “इथिक्स पढेर आउ” भन्दै गम्भीर गैर-जिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन्।

बिरामीका आफन्तको अनुरोधमा अस्पताल पुगेका पत्रकारहरूले अस्पताल प्रशासनको जानकारीमा डाक्टरसँग कुरा गर्दा डा. पौडेल उत्तेजित हुँदै पत्रकारिताको इथिक्स सिकेर आउन सुझाव दिएका थिए। सो क्रममा डा. पौडेलले पत्रकारहरूको टोलीमाथि अपमानजनक व्यवहार गरेका थिए।

घटनास्थलमा सुदूरपश्चिम अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष तथा कल २४ न्युजका सञ्चालक भक्तराज जोशी, सनराइज टेलिभिजनका समाचार प्रमुख सुदिप थापा, सुदुरपत्र अनलाइनका संवाददाता लवदेव धामी, सुदूरपश्चिम टाइम्सका सम्पादक रमेश एडी, सामुदायिक खबरका सम्पादक महादेव गिरी, जनबोली खबरका सञ्चालक हरिस भट्ट लगायत पत्रकारको उपस्थिति थियो।

सङ्घका अध्यक्ष जोशीले डा. पौडेलको व्यवहारलाई पत्रकारितामाथिको गम्भीर आक्रमणको रूपमा व्याख्या गर्दै घोर आपत्ति जनाएका छन्। उनले चिकित्सक जस्तो जिम्मेवार पेसामा आबद्ध व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुःखद् र निन्दनीय भएको बताए।

सञ्चारकर्मीहरूले घटनाको सार्वजनिक माफी माग्न माग गरेका छन् र आगामी दिनमा यस्तो व्यवहार नदोहरिन चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै